बागमती पुलबाट टेलर खोलामा खस्दा चालकको मृत्यु
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुलबाट टेलर गाडी खस्दा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामको पाइप बोकेको टेलर गाडीमा बाँधिएको पाइपको टुचिन चुडिएपछि गाडी अनियन्त्रित भई पुलबाट तल बागमती खोलामा खसेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। साथै नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधव प्रसाद घिमिरेको नेतृत्वमा ७ जनाको टोली उद्धार कार्यमा परिचालित भएको थियो।
दुर्घटनाका बेला टेलरमा चालक र सहचालक गरी दुई जना सवार रहेका थिए। सहचालक प्रशन्न प्रजा सकुशल रहेका छन्।
प्रारम्भिक रूपमा सम्पर्कविहीन रहेका चालक दल बहादुर बर्तौला लाई खोजी गर्ने क्रममा राति करिब ८:२० बजे क्रेनको सहायताले टेलर गाडी खोलाबाट बाहिर निकालिएको थियो। त्यस क्रममा बर्तौला गाडीको स्टेरिङमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











