तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि सुरु
हेटौंडा । हेटौंडाको गौरीटार स्थित केन्द्रीय खेलकुद प्रतिष्ठानमा आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ। प्रदेश खेलकुद विकास परिषद् को आयोजनामा हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित ४ हजार १ सय ६१ जनाको सहभागिता रहेको छ।
प्रतियोगितामा १५ खेल विधा समावेश छन्। अधिकांश खेल हेटौंडामा, महिला क्रिकेट र कराँते चितवनमा तथा भलिबल, पौडी, उसु र जुडो काठमाडौं र ललितपुरमा सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता नयाँ प्रतिभा पहिचान र आगामी राष्ट्रिय खेलकुदको तयारीका लागि महत्वपूर्ण हुनेछ।











