टिकटक: मनोरञ्जनको स्रोत कि समयको बर्बादी? यसको प्रभाव र सही प्रयोगको उपाय

अशोक बजगाँई
२०८१ भाद्र २६, बुधबार ०७:३४

सेप्टेम्बर २०१६ मा चीनको ByteDance कम्पनीले लन्च गरेको टिकटकले चाँडै नै विश्वभर चर्चा र लोकप्रियता हासिल गर्यो। २०१७ मा यसको अन्तर्राष्ट्रिय संस्करण लन्च भएपछि, टिकटक आज १६० भन्दा बढी देशहरूमा प्रयोगमा छ र यसका १.१ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्। विश्वकै शक्तिशाली मानिने र चीनको प्रतिस्पर्धीको रूपमा रहेको देश अमेरिकामा समेत टिकटक २ सय २० मिलियनभन्दा बढी पटक डाउनलोड भएको तथ्याङ्क छ । नेपालमा मात्र यसको २२ लाख भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन् ।

यो अत्याधिक लोकप्रिय सामाजिक सञ्जालले मानिसहरूको जीवनमा ठूलो प्रभाव पारिरहेको छ। टिकटकको प्रयोग गर्नेहरूले यसलाई मुख्यतः मनोरञ्जनको स्रोतको रूपमा प्रयोग गर्दै आएका छन्, तर यसको उपयोगका सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन्।

टिकटकको सकारात्मक पक्ष

टिकटक प्रयोगकर्ताहरूमध्ये केही व्यक्तिहरूले टिकटकलाई आफ्नो पेशा बनाएर आर्थिक लाभ प्राप्त गरिरहेका छन्। उनीहरूले टिकटकमा नियमित रूपमा भिडियोहरू पोस्ट गरेर, लाइभ सेसन चलाएर, र गिफ्टहरू प्राप्त गरेर आफ्नो परिवार चलाइराखेका छन्। अझ भन्ने हो भने घरपरिवार चलाइराखेका मात्र छैनन् राम्रो घर अनि गाडी चढेर सम्पन्न जीवनयापन गरिराखेका उदाहरणहरू पनि हामी माझ छ । यसबाट प्रमाणित हुन्छ कि , टिकटक केवल मनोरञ्जनको साधन मात्र होइन, यो एक महत्वपूर्ण व्यवसायिक अवसर पनि हो । यस्ता प्रयोगकर्ताहरूले समाजमा राम्रो प्रभाव पार्दै, आफ्नो व्यवसायिक सफलता र आर्थिक आत्मनिर्भरता हासिल गरेका छन्

टिकटकको नकारात्मक पक्ष

तर, टिकटकलाई आयआर्जन र सकारात्मक रूपमा प्रयोग गर्नेभन्दा टिकटकमा समय बर्बादी गर्नेको सङ्ख्या कैयौँ गुणा ज्यादा छ। प्राय: मानिसहरूले टिकटकमा धेरै समय बर्बाद गरिरहेका छन्। यो केवल मनोरञ्जनको साधनको रूपमा सीमित भइसकेको छ र क्रिएटिभ काम र अन्य आविष्कारका प्रयासहरूमा समय लगाउन छोडेका छन् । सामाजिक सञ्जालको अत्याधिक प्रयोगले जीवनका महत्वपूर्ण पक्षहरूमा ध्यान नदिनु, अन्य रचनात्मक काम गर्न छोड्नु, र समाजमा सकारात्मक योगदान नगर्नु जस्ता केही जटिल समस्याहरू बनेका छन्।

अर्कोतर्फ, कतिपय व्यक्तिहरू अश्लिल वा आपत्तिजनक सामग्री बनाएर सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गर्न लागिपरेको देखिन्छ । यस्ता सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ र उनीहरु स्वयंको व्यक्तिगत जीवनमा समेत असर पुर्याइरहेको छ। अश्लिल सामग्रीको प्रवृत्ति र अनावश्यक विवादास्पद गतिविधिहरूले सामाजिक मान्यता र सामाजिक शिष्टाचारलाई धक्का पुर्याएको छ।
टिकटक चलाउने बहानामा रातको १२-०१ बजेसम्म टिकटक हेरेर बस्ने र अरुहरुले चलाएका लाइभहरुमा गएर मनोरञ्जन लिएर आफ्नो समय बर्बाद गर्नेको संख्या पनि उल्लेख्य छ।

विदेशमा टिकटकको प्रभाव

विदेशका खासगरी खाडी मुलुकमा, धेरै नेपाली युवा टिकटकका भिडियोहरू हेरेर र गिफ्ट पठाएर आफ्नो पैसा र समय बर्बाद गरिरहेका छन्। उनीहरूले आफ्नो समय र पैसा अरूको मनोरञ्जनमा खर्च गर्दै, आफूलाई सन्तुष्ट बनाउनमा मात्र सीमित छन्। यसले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनमा समेत नकारात्मक असर पुर्याइरहेको छ।

सामाजिक सञ्जालको सही प्रयोग

सामाजिक सञ्जालको सही प्रयोग गरेर यसको सकारात्मक पक्षलाई अधिकतम फाइदा लिन सकिन्छ। टिकटकलाई मनोरञ्जनको साधन मात्र होइन, सामाजिक शिक्षा र सूचना प्रसारणको माध्यमको रूपमा पनि प्रयोग गर्न सकिन्छ। सूचनामूलक, प्रेरणादायक र शिक्षाप्रद भिडियोहरू बनाएर, समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ। यसले न केवल व्यक्तिको व्यक्तिगत सफलता बढाउँछ, तर सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन ल्याउन पनि सहयोग पुर्याउँछ।

सामाजिक सञ्जालको प्रयोग गर्दा, समय र पैसा दुवैको सही व्यवस्थापन गर्नु आवश्यक छ। अश्लिल सामग्रीको प्रवृत्तिलाई टाढा राख्दै, समाजलाई फाइदा पुग्ने र सृजनात्मक सामग्री निर्माणमा ध्यान दिनु महत्वपूर्ण छ।

निष्कर्ष

समग्रमा हेर्दा हाम्रो देश नेपालमा टिकटकको सकारात्मक प्रयोगभन्दा नकारात्मक प्रयोग बढ्दो छ । एउटा अङ्ग्रेजी भनाइ छ “Nothing is available for free, time should be spent on anything. ” भनेझैँ हामीले कुनै पनि कुराहरूमा समय खर्चिनु नै त्यस् बापतको भुक्तानी हो किनकि यो संसारमा समय भन्दा बहुमुल्य चिज बस्तु अरु केही छैन । समय यस्तो चिज हो जो कि फिर्ता गर्न सकिँदैन पैसा खर्च गर्नुभन्दा ठूलो चिज समय खर्च गर्नु हो। यसर्थ टिकटक र अन्य सामाजिक सञ्जालहरूको प्रयोग गर्दा, यसको प्रभाव र उद्देश्यलाई ध्यानमा राख्नुपर्छ। यसलाई मनोरञ्जन, शिक्षा, र व्यवसायको लागि सही तरिकामा प्रयोग गर्नु आवश्यक छ। समाजलाई सकारात्मकता तर्फको बाटोमा सीमित गर्दै, समय र स्रोतको सही प्रयोग गरेर सामाजिक सञ्जालको फाइदा लिन सकिन्छ। यसरी, सामाजिक सञ्जाललाई जीवनको साँचो र सकारात्मक साधनको रूपमा रूपान्तरण आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*