सुधन गुरुङको पुन: गृह मन्त्रालयमा फर्किने तयारी
छानबिनपछि सुधन गुरुङको पुनरागमन, गृह मन्त्रालयमा फर्किने तयारी
काठमाडौं । सम्पत्ति विवरणबारे उठेको विवादका कारण पदबाट बाहिरिएका सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने तयारीमा रहेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरेका छन् र यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
गत वैशाख ९ गते सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनको सम्पत्तिबारे अध्ययन गर्न विशेष छानबिन समिति गठन गरेको थियो।
समितिले प्रधानमन्त्रीसमक्ष बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै गम्भीर कैफियत नदेखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनअनुसार उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ भने उनले उल्लेख गरेका अन्य जग्गा बुवा र हजुरबुवाको नाममा रहेको देखिएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। यद्यपि सरकारका प्रवक्ता सस्मित पोखरेलले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले हालसम्म नगरेको बताएका छन्। उनका अनुसार प्रतिवेदन अध्ययनपछि आवश्यक निर्णय लिइनेछ।
छानबिन समितिले सम्पत्ति विवरणमा देखिएको अन्तर पारिवारिक सम्पत्तिसमेत समावेश गरेर विवरण प्रस्तुत गरिएकाले भएको निष्कर्ष निकालेको छ। समितिले प्रणालीगत सुधार आवश्यक रहेको विषयसमेत प्रतिवेदनमा औंल्याएको बताइएको छ।











