ओली र लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै

संवाददाता
२०८२ चैत्र १५, आईतवार ०८:१९

काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ ।

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

ओली र लेखक पक्राउ परेपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा एमाले–कांग्रेस कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ ।

आज ओली र लेखक दुवैलाई अदालत खुल्नासाथै उपस्थित गराउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*