मकवानपुरमा ट्रक दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोक पथ सडकखण्डमा बुधबार बिहान करिब २:५० बजे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट जितपुर भन्ज्याङबाट प्राप्त जानकारी अनुसार हेटौडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरफ लोड बोकेको EICHER ट्रक अनियन्त्रित भई सडक छेउको एक खाली घरमा ठोक्किएको थियो। त्यसपछि ट्रक करिब १००–१५० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसबाट सुबेदार सिताराम कार्कीको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरेको हो।
उद्धार गरिएका दुईमध्ये एक जनालाई बिहान ५:१५ बजे हेटौडा अस्पताल ल्याइएको थियो भने अर्को घाइतेलाई ५:५० बजे उद्धार गरी अस्पताल पठाइएको थियो। उपचारका क्रममा एक घाइतेको बिहान ६:५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
मृतक पर्सा, वीरगञ्ज महानगरपालिका–३२ का करिब २० वर्षीय सन्तोष यादव रहेको खुल्न आएको छ। गम्भीर घाइते ट्रक चालक करिब ३३ वर्षीय कृष्ण यादवलाई थप उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्थानीय ओमान सिंह तितुङको घरमा क्षति पुगेको भए पनि मानविय क्षति भने भएको छैन। घटनापछि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
उक्त ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ एरियल कम्पनीको सरफ लोड बोकेर जाँदै गरेको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











