मनहरीमा लागु औषध गाँजा सहित गाडी नियन्त्रणमा, एक जना पक्राउ
हेटौंडा । मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडकखण्डमा शंकास्पद रूपमा आइरहेको सवारी साधनलाई रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा राक्सिराङ गाउँपालिका–१ भावरबाट मनहरी–९ खरंगा हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको हात्ती गाडीको पछाडि लोड गरी ल्याइएको अवस्थामा २७ प्याकेट लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाँजासहित गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका–४ निवासी करिब २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गाँजाको तौल गर्दा जम्मा १७१ किलो २१ ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति र सवारी साधनलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी आवश्यक अनुसन्धान भइरहेको छ।











