मकवानपुरकाे इन्द्रसरोवर ३ मा ९ वर्षीया बालिकाको भीरबाट लडेर मृत्यु
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित जातीपोखरीमा ९ वर्षीया लमिना वाइवा मृत अवस्थामा फेला परेकी छन्।
लमिना घाँस काट्न भन्दै घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगल गएकी थिइन्। साँझसम्म पनि घर फर्केर नआएपछि परिवार र स्थानीयले खोजतलास सुरु गरेका थिए।
खोजीका क्रममा लमिना बिहान ७:०० बजे चुत्रोघारीडाँडाको भीरबाट करिब ३०० मिटर तल लडेको अवस्थामा उनको शव फेला परेको प्रहरी चौकी सिस्नेरीले जानकारी दिएकाे थियाे।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भिमफेदीबाट SOCO सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।











