बागमती प्रदेशमा आलोपालो नेतृत्व कार्यान्वयनको विषयमा एमालेको दबाब

संवाददाता
२०८२ चैत्र ६, शुक्रबार १२:०४

हेटौंडा । बागमती प्रदेशमा सत्ता साझेदार दलहरूबीच भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन गर्न नेकपा एमाले ले दबाब बढाएको छ। चैत मसान्तपछि सरकारको नेतृत्व परिवर्तन गरी एमालेले नेतृत्व लिनुपर्नेमा पार्टीले स्पष्ट अडान राखेको हो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले हाल इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार परिवर्तन गरी सहमति अनुसार एमालेले नेतृत्व पाउनुपर्ने बताएका छन्। उनले दुई दलबीच भएको समझदारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

उनका अनुसार सत्ता साझेदार दलहरूबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएकोले अबको पालो एमालेको भएको स्पष्ट छ। एमालेका सांसदहरूले पनि यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

थपलियाले प्रदेश सभाको बैठक तत्काल बोलाउनुपर्ने माग गरेका छन्। लामो समयसम्म बैठक नबस्दा जनताका मुद्दाहरू ओझेलमा परेको उनको भनाइ छ। “संसद् चाँडो बोलाउनुपर्छ भन्ने हाम्रो निरन्तर दबाब छ,” उनले भने, “हल तथा समयको समस्या देखाएर बैठक पन्छाउनु उचित हुँदैन।”

उनले सरकारले भौतिक पूर्वाधार (हल) को अभावलाई कारण देखाएर बैठक स्थगित गर्नु उचित नभएको बताए। साथै, मुख्यमन्त्रीले संघीय सरकार गठन प्रक्रियाको प्रतीक्षा गरेका कारण प्रदेश सभाको बैठक ढिला भएको आरोप पनि लगाए।

सभामुख चयनको विषयमा भने सत्ता साझेदार दलहरूबीच कुनै विवाद नरहेको उनले दाबी गरे। शक्ति सन्तुलनका आधारमा मुख्यमन्त्री एक दलको हुँदा सभामुख अर्को दलले पाउने सहमति रहेको उनको भनाइ छ।

थपलियाका अनुसार चैतको अन्तिम वा वैशाखको सुरुवाततिर प्रदेश सभा बैठक बस्ने र नयाँ राजनीतिक प्रक्रिया अगाडि बढ्ने सम्भावना छ। “नेपाली कांग्रेस ले नेतृत्व गर्ने समय चैतसम्म मात्र हो, त्यसपछि एमालेको भागमा नेतृत्व आउने पुरानो समझदारी छ,” उनले भने।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*