जेन–जी आन्दोलनमा क्षति पुगेका बागमती प्रदेशका भौतिक संरचनाको मर्मत अन्तिम चरणमा, मन्त्री देवकोटाद्वारा निरीक्षण
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका प्रदेशका भौतिक संरचना तथा सरकारी कार्यालयहरूको मर्मतसम्भार कार्यको स्थलगत अनुगमन गर्नुभएको छ ।
मङ्गलबार मन्त्री डा. देवकोटासहितको टोलीले हेटौंडास्थित ४ वटा मन्त्रालय रहेको पाँचतले भवन, बागमती प्रदेशका प्रमुख सचिवको निवासलगायत क्षतिग्रस्त भवनहरूको निरीक्षण गरेको हो । अनुगमन टोलीमा मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र सहरी विकास तथा भवन निर्माण महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवसमेत सहभागी हुनुहुन्थ्यो ।
निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा. देवकोटाले आन्दोलनबाट क्षति पुगेका भवनहरूको काठमाडौँबाट ‘स्ट्रक्चरल इन्जिनियर’हरू ल्याएर प्राविधिक मूल्याङ्कन गराइएको र सोही आधारमा पुनर्निर्माण अघि बढाइएको जानकारी दिनुभयो । मर्मत गरेर प्रयोगमा ल्याउन सकिने भवनहरूको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
सहरी विकास तथा भवन महाशाखाका प्रमुख भूपेन्द्रकुमार यादवका अनुसार ठूलो क्षति पुगेको हेटौंडा उपमहानगरपालिका–१ स्थित भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय गरी चार वटा मन्त्रालय बसेको भवन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रमुख सचिव निवास, प्रदेश सभा सचिवालय (ब्लक ‘बी’ र ‘सी’) मर्मतसम्भार अन्तिम चरणमा पुगेको छ । यही चैत मसान्तभित्र मर्मतको काम सक्ने मन्त्रालयको लक्ष्य छ ।
मर्मतपछि प्रयोग गर्न मिल्ने भवन पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ६ करोड २४ लाख रुपैयाँ बजेट सुनिश्चित भएको थियो । ‘३ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम अन्तिम अवस्थामा पुगेको प्रमुख यादवले बताउनु भयो । जसमध्ये ५ वटा भवन १५ दिनभित्र पूर्ण रूपमा सम्पन्न गरी हस्तान्तरण गर्ने बताउनु भयो ।
सानो बजेटबाट तत्काल मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रदेश मातहतका कार्यलयका भवनहरु स्वयम् कार्यालयद्वारा मर्मतको काम सम्पन्न भई संचालनमा आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले भौतिक संरचनाको मर्मत अन्तिम चरणमा पुगेसँगै सेवा प्रवाहलाई पुरानै लयमा फर्काउने तयारी भइरहेको जानकारी दिनुभयो । मर्मत भइरहेको मुख्य भवनमा गरिबी निवारण, खानेपानी तथा ऊर्जा, कृषि र यातायात मन्त्रालयको व्यवस्थापन गरिने उहाँले बताउनु भएको छ ।
‘प्रमुख सचिवको निवासको मर्मत कार्य भने सकिएको छ । स्वास्थ्य मन्त्रालय रहेको भवनको पनि मर्मत भइरहेको छ र त्यहाँ आवश्यकताअनुसार मन्त्रालय राखिने सचिव मरहट्ठाले जानकारी दिनु भयो ।
जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेश सरकार मातहतका कार्यालय, भवन, सवारीसाधन र जिन्सी गरी कुल ९० करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको प्रारम्भिक विवरणअनुसार काठमाडौँ, चितवन, ललितपुर, भक्तपुर र मकवानपुरका गरी प्रदेश सरकारका २६ वटा कार्यालय र ६० वटा भवनमा क्षति पुगेको थियो ।
जसअन्तर्गत काठमाडौँमा २ वटा कार्यालयका ३ वटा भवन, चितवनमा ३ वटा कार्यालयका १० वटा भवन, भक्तपुरमा एउटा कार्यालयका २ वटा भवन, मकवानपुरमा १७ वटा कार्यालयका ४० वटा भवन र ललितपुरमा ३ वटा कार्यालयका ५ वटा भवन गरी जम्मा ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो ।
यस्तै, सवारीसाधनतर्फ १४२ वटा दुईपाङ्ग्रे र ५३ वटा चारपाङ्ग्रे गरी २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो भने २० करोड ४० लाख ८१ हजार रुपैयाँ बराबरको जिन्सी सामग्री नष्ट भएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको अगुवाइमा काठमाडौंबाट आएका दुई विज्ञसहितको टोलीले हेटौंडास्थित विभिन्न मन्त्रालय, प्रदेश सभाहल, कार्यालय र निकायहरूका भवनको प्राविधिक मूल्याङ्कन गरेको थियो । प्राविधिकहरूको टोलीले आधुनिक उपकरण प्रयोग गरी ११ वटा क्षतिग्रस्त भवनको जाँचबुझ गरेकोमा १० वटा भवन तत्काल प्रयोगका लागि अयोग्य देखिएका थिए ।
क्षतिग्रस्त भवनहरूको प्राविधि अवस्था बताउन तत्काल प्रयोग गर्न मिल्ने ’हरियो’, मर्मतपछि प्रयोग गर्न मिल्ने ’पहेँलो’ र पूर्ण रूपमा असुरक्षित तथा पुनर्निर्माण गर्नुपर्ने ’रातो’ गरी तीन श्रेणीमा वर्गीकरण गरिएको थियो ।











