मदन भण्डारी प्रतिष्ठानको शैक्षिक प्रिफ्याक भवन निर्माण सुरु
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान का शैक्षिक कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले हेटौंडा–१० टिसियन क्षेत्रमा प्रिफ्याक भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ।
करिब ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागत मा निर्माण हुने भवनको ठेक्का सम्झौता सम्पन्न भएपछि बिहीबारदेखि निर्माण थालिएको हो। भवनको शिलान्यास इन्द्र बहादुर बानियाँ ले गरेका छन्।
निर्माण हुने भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायत आवश्यक शैक्षिक पूर्वाधार रहनेछ। अहिले प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्न भाडाका कोठा प्रयोग गर्दै आएको छ।
सम्झौताअनुसार भवन निर्माण आगामी असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यको नियमित अनुगमन प्रदेश सरकारका सम्बन्धित निकायहरूले गर्ने जनाइएको छ।
कार्यक्रममा डोरमणि पौडेल, दिनेशचन्द्र देवकोटा, किरण थापा, एका लाल श्रेष्ठ, प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली तथा रजिस्ट्रार भिम शागर गुरागाई लगायतको उपस्थिति रहेको थियो।
भवन निर्माणपछि प्रतिष्ठानका कक्षा, तालिम कार्यक्रम र प्रशासनिक कामकाज आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सहज हुने तथा हेटौंडालाई बागमती प्रदेशको स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।











