हेटौंडा अस्पतालको नयाँ आधुनिक भवन उद्घाटन
हेटौंडा । मकवानपुरको हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान द्वारा सञ्चालित हेटौंडा अस्पताल मा निर्माण सम्पन्न आधुनिक भवनको बिहीबार उद्घाटन गरिएको छ। इन्द्र बहादुर बानियाँ ले भवन उद्घाटन गर्दै स्वास्थ्य सेवा विस्तार गरी छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।
करिब २८ करोड ५४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवन ३ वटा ब्लक मा बनेको छ। एउटा ब्लक अण्डरग्राउन्डसहित ६ तले र अन्य दुई ब्लक ५–५ तले छन्। भवनमा लिफ्ट, छुट्टाछुट्टै शौचालय, हावादार वार्ड, फायर सेफ्टी, सीसीटीभी, आधुनिक इलेक्ट्रिकल र स्यानिटरी प्रणाली तथा भूकम्प प्रतिरोधी संरचना जडान गरिएको छ।
नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालमा २ सय बेड थपिने छन्। अहिले रहेको ३ सय बेड क्षमता बढेर ५ सय बेड पुग्नेछ।
प्रतिष्ठानका उपकुलपति प्रदिप ज्ञवाली का अनुसार ओपीडी, आकस्मिक सेवा, भर्ना सेवा, प्रयोगशाला, एक्स–रे, फार्मेसी र प्रशासनिक कक्ष छुट्टाछुट्टै संरचनामा सञ्चालन गरिनेछ। साथै सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष र विशेषज्ञ सेवा विस्तार गर्ने योजना छ।
अस्पतालले आगामी दिनमा डायलासिस सेवा विस्तार तथा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ, जसले हाल उपचारका लागि चितवन वा काठमाडौं जानुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा डोरमणि पौडेल, दिनेशचन्द्र देवकोटा, किरण थापा, एका लाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।











