किसानलाई मर्का पारेर बिचौलिया मोटाउन दिँदैनौँ – मन्त्री पौडेल
हेटौँडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूधन पौडेलले किसानलाई मर्का पार्ने बिचौलियामाथि प्रदेश सरकारले नीतिगत रूपमा र आवश्यक परे प्रत्यक्ष बजार हस्तक्षेप गर्ने स्पष्ट पारेका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब पाँच महिनाको अवधिमा सम्पन्न काम, आगामी योजना तथा किसानले भोग्दै आएका समस्याबारे जानकारी गराउँदै मन्त्री पौडेलले किसानमुखी नीति नै प्रदेश सरकारको प्राथमिकता रहेको बताए।
उनका अनुसार पदभार सम्हालेलगत्तै गाई–भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै प्रदेशका १३ वटै जिल्लामा ९६ हजारभन्दा बढी पशुमा खोप लगाइएको छ। गर्मी मौसममा गरिएको खोप अभियानपछि जाडोयाममा पुनः खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
विगतमा कार्यविधि ढिलाइका कारण रोकिएका राहत तथा अनुदान कार्यक्रमलाई तीव्रता दिइएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल प्रदेशका अधिकांश कृषि तथा पशुपन्छीसम्बन्धी कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरिसकेको बताए।
किसानले दूधको भुक्तानी नपाउने समस्या गम्भीर रहेको उल्लेख गर्दै उनले केन्द्र सरकारको पहल प्रभावकारी नभए प्रदेश सरकारले दीर्घकालीन समाधानका लागि हस्तक्षेप गर्ने स्पष्ट पारे। साथै, किसानले उत्पादनको उचित मूल्य नपाउने र बजारमा बिचौलिया हाबी हुने समस्यालाई समाधान गर्न सरोकारवाला सबैसँग छलफल गरी नीतिगत निर्णय लिइने बताए।
अनुदान अनुत्पादक क्षेत्रमा गएको भन्ने गुनासोलाई सम्बोधन गर्न प्रदेश सरकारले अनुदानसम्बन्धी श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको छ। अब उत्पादनमा आधारित अनुदान, ब्याज अनुदान तथा कृषि अध्ययन गरेका युवालाई लक्षित कार्यक्रमलाई मात्र प्राथमिकता दिइने मन्त्री पौडेलले बताए। साना, दलित, जनजाति तथा सीमान्तकृत किसानका लागि लागत सहभागिता लचिलो बनाइएको पनि उनले जानकारी दिए।
निर्माण भएर सञ्चालनमा नआएका शीत भण्डारलाई कानुनी तथा प्राविधिक अड्चन फुकाएर स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। हेटौँडास्थित पाउडर प्लान्टलाई सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडेलमा सञ्चालन गरी किसान, सहकारी र व्यवसायी सबैको हित सुनिश्चित गरिने उनले बताए।
मल अभावको समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको र दीर्घकालीन रूपमा प्राङ्गारिक मल तथा गड्यौला मल प्रवर्द्धनमा जोड दिइने मन्त्री पौडेलको भनाइ छ। बाँकी कार्यकालमा तल्लो तहका किसानलाई प्याकेजमा सहयोग, ठूला किसानका लागि लगानीमैत्री वातावरण निर्माण तथा स्वदेशी उत्पादनको संरक्षण नै आफ्नो प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे।










