भीमफेदीमा सुमो दुर्घटना, ९ जना घाइते
भीमफेदी। मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
आज साँझ काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
प्रहरी टोलीले सुमोमा सवार ९ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाएको छ।
घाइतेमध्ये ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ बालक रहेका छन्। प्रहरीका अनुसार ७ जनाको अवस्था गम्भीर र २ जना बालबालिकाको अवस्था मध्यम रहेको छ।
दुर्घटनाग्रस्त सुमो घटनास्थलमै रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










