विद्यालय हिजो र भोलिको पुस्ताको बलियो मार्गदर्शन रहेको सांसद पाठककाे जिकिर
हेटौंडा । बागमती प्रदेशसभा सदस्य भारती पाठकले विद्यालयको ५० वर्षको गौरवमय इतिहास निर्माणमा स्थानीय बासिन्दा र अभिभावकहरूको योगदान अतुलनीय रहेको बताउनुभयो।
विद्यालयकी पूर्वविद्यार्थीसमेत रहनुभएकी पाठकले विद्यालय हिजो र भोलिको पुस्ताका लागि एउटा बलियो मार्गदर्शन भएको उल्लेख गर्नुभयो।
उहाँले अबको शिक्षा प्रमाणपत्रमुखी मात्र नभई जीवनोपयोगी र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो। विद्यालयलाई आगामी दिनमा प्राविधिक र सीपमूलक शिक्षाको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा आयोजित पाँच दिने स्वर्ण महोत्सवको समापन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्र बर्तौला र प्रधानाध्यापक प्रबोध विडारीले मन्तव्य राख्नुभएको थियो।
समारोहमा कैलाशका लोकबहादुर मुक्तान, राक्सिराङका राजकुमार मल्ल, हेटौँडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदी, वडा नं. ११ की जुना दाहाल, वडा नं. १५ का सुनिल मोक्तान, पूर्वविद्यार्थी डा. कृष्णकुमार भेटवाल, पूर्वगाविस अध्यक्ष हरिबहादुर पण्डितलगायत समाजसेवी, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।
विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा पाँच दिनसम्म विभिन्न १६ वटा कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा विद्यालयको आधिकारिक गीत सार्वजनिक, इतिहास झल्कने स्तम्भ अनावरण, ‘निर्मल स्मारिका’ विमोचन, जिल्लास्तरीय शिक्षक नृत्य प्रतियोगिता, नगरस्तरीय विद्यार्थी हाजिरजवाफ तथा नृत्य प्रतियोगिता, पालिकास्तरीय पुरुष भलिबल, बृहत् रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिएको प्रधानाध्यापक विडारीले जानकारी दिनुभयो।
यसैगरी, विद्यालयमा योगदान पुर्याउने पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो। स्वर्ण महोत्सवको उद्घाटन पुस ८ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको थियो।










