अबको शिक्षा सीपुमुलक र रोजगारी सुनिश्चित गर्ने हुनुपर्छ : मन्त्री दिनेश चन्द्र देवकोटा
हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटाले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औँल्याउनुभएको छ । हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री देवकोटाले प्रमाणपत्रका लागि मात्र पढ्ने र पढेर पनि बेरोजगार बस्नुपर्ने शिक्षाको अब कुनै सान्दर्भिकता नरहेको बताउनुभयो।
मन्त्री देवकोटाले शिक्षालाई श्रम र रोजगारीसँग जोड्नुपर्नेमा विशेष जोड दिनुभयो। ‘हामीले विद्यार्थीलाई विद्यालय पठाउने तर पढेर निस्कँदा रोजगारी नपाउने शिक्षा दिने कि नदिनेरु यो आजको मूल प्रश्न हो,’ उहाँले भन्नुभयो, ‘अबको शिक्षाले विद्यार्थीको हातमा सीप र मुखमा रोजगारी सुनिश्चित गर्नुपर्छ।’ उच्च शिक्षाका लागि विदेश जाने लहर रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने खालका विषय विद्यालय तहदेखि नै सुरु गर्नुपर्ने उहाँको धारणा थियो।
वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै मन्त्री देवकोटाले विद्यालयहरूले अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्फर्मेसन टेक्नोलोजी (आईटी) र बीसीएजस्ता अत्याधुनिक विषयको अध्यापन सुरु गर्नुपर्ने बताउनुभयो। बागमती प्रदेश सरकारले स्थापना गरेको ‘बागमती विश्वविद्यालय’ र सीटीईभीटीसँगको समन्वयमा यस्ता प्राविधिक शिक्षालाई गाउँ–गाउँका विद्यालयसम्म पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
वि.सं. २०३२ सालको कठिन परिस्थितिमा मुठीदान गरेर विद्यालय स्थापना गर्ने संस्थापक, अग्रज र अभिभावकहरूको योगदानको मन्त्री देवकोटाले उच्च प्रशंसा गर्नुभयो। ‘जुन समाजले आफ्ना अग्रणी र अग्रजको सम्मान गर्दैन, त्यो समाजको भविष्य उज्ज्वल हुन सक्दैन,’ उहाँले भन्नुभयो, ‘हिजोको पुस्ताले खाएर नखाएर बनाएको जगमा नै आजको सुन्दर विद्यालय उभिएको छ।’
भौतिक पूर्वाधार विकास मन्त्रीका हैसियतले उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयलाई राष्ट्रिय स्तरमा चिनाउन आवश्यक पर्ने सुविधासम्पन्न हल, कन्फरेन्स रुम र अन्य प्राविधिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले विशेष प्राथमिकता दिने उहाँले उद्घोष गर्नुभयो।










