हेटौंडामा सडक विस्तार स्थगित स् सर्वोच्चको उत्प्रेषण आदेशपछि कार्य रोकियो
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले मंसिर २० गतेदेखि अगाडि बढाइरहेको सडक विस्तार तथा संरचना हटाउने अभियान हाललाई स्थगित भएको जनाएको छ। मंसिर १९ गते सर्वोच्च अदालतबाट जारी भएको उत्प्रेषण आदेश मंसिर २१ गते आधिकारिक रूपमा प्राप्त भएपछि डिभिजनले सबै प्रकारका काम रोकिएको जानकारी गराएको हो।
डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेख गरिएका सबै गतिविधि अर्को आदेश नआएसम्मका लागि स्थगित गरिएको छ। उनका अनुसार सडक विस्तारसम्बन्धी कुनै नयाँ काम अघि नबढाए पनि सरोकारवाला तथा प्रभावित घरधनीहरूले भत्किएका संरचनाको व्यवस्थापन भने गर्न सक्नेछन्।
सडक डिभिजनले जारी गरेको सूचनामा भनिएको छ,
“सडक सीमा संरक्षण अभियानका क्रममा प्रकाशित सूचनाविरुद्ध केही सरोकारवालाहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकाले मिति २०८२र०८र१९ मा जारी उत्प्रेषण आदेशले मिति २०८२र०८र२१ मा म्याद तामेल भई, सो आदेशलाई सम्मान गर्दै सूचनामा उल्लेखित कार्यहरू हाललाई स्थगन गरिएको व्यहोरा अनुरोध छ।”
यसअघि शनिबार हेटौंडाको मुख्य राजमार्गको केन्द्र रेखादेखि दायाँ–बायाँ २५–२५ गज भित्र परेका स्थायी तथा अस्थायी गरी ५ सयभन्दा बढी संरचना सडक डिभिजनले डोजर र स्काभेटर प्रयोग गरी भत्काएको थियो। सो अभियानमा ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
रातोमाटेदेखि बुद्धचोक, राप्ती रोड, पिपलबोट, चौकीटोल ओरालोसम्मका संरचना हटाइँदा नेपाल राष्ट्र बैंक लिमिटेड, हिमालयन बैंक, तीनवटा पेट्रोल पम्पसहित दर्जनौँ व्यापारीक संरचना भत्किएका थिए। साथै बुद्धचोक–फरेष्ट्री क्षेत्र आसपास रहेका २५ भन्दा बढी अशोकका बोट पनि मासिएका छन्।










