हेटौंडामा २५ मिटर सडक विस्तार : मंसिर २० देखि डोजर चल्दै, घरधनि र व्यवसायीको मुआब्जा र स्थानान्तरणको माग
मकवानपुर । हेटौंडामा २५ मिटर सडक विस्तारको चर्चा फेरि चुलिएको छ। लामो समयदेखि रोकिँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य मंसिर २० गतेबाट सुरु हुने भएको छ।
यसका लागि सडक डिभिजन हेटौंडाले माइकिंगसहित रेखांकन (मार्किङ०) कार्य सुरु गरिसकेको जनाएको छ।
यसअघि सडक डिभिजन कार्यालयले मंसिर ५ गतेदेखि १५ दिने अल्टिमेटम दिएको थियो, जसको अवधि अब ७ दिन मात्र बाँकी छ र मंसिर १९ गते सकिँदैछ। कार्यालयले रेखांकनको काम हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट सुरु गरेको हो। रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म तथा बुद्धचोकदेखि सामरीपुलसम्म पर्ने संरचना १५ दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ।
सडक डिभिजन हेटौडाका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार निर्धारित अवधिभित्र संरचना नहटाए मंसिर २० गते बिहानदेखि डिभिजन कार्यालयको डोजर चल्नेछ।२०८० पुस १७ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्दै सडक विस्तार अघि बढाइएको उनले बताए ।
पहिलो चरणमा संस्थागत संरचनाहरुलाई लिखित पत्राचार गरिएको छ। नेपाल बैंक, मकवानपुर उद्योग वाणिज्य संघ, हेटौंडा उपमहानगरपालिका, हिमालय बैंक तथा दुईवटा पेट्रोल पम्पलाई पत्र पठाइएको डिभिजन कार्यालयले जनाएको छ।
त्यस्तै, रातोमाटोदेखि सामरीपुलसम्म अवैध रूपमा बनेका संरचना स्वेच्छिक रूपमा हटाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले संरचना हटाउने क्रममा बल प्रयोग नगर्ने स्पष्ट पारेका छन्। डिभिजन कार्यालयले पत्राचार गरेपछि प्रशासन कार्यालय सहयोग गर्न तयार रहेको उनले जानकारी दिए।
यता घरधनी तथा व्यवसायीहरू सडक विस्तारको पक्षमा रहे पनि सरकारले पुख्र्यौली घरको मुआब्जा र व्यवसायीहरूको स्थानान्तरणको व्यवस्था गर्नुपर्नेको माग गरेका छन्। उनीहरूले आफूहरू विकासका समर्थक भए पनि माग सम्बोधन नभए सम्म सडक विस्तार गर्न नदिने बताउँछन् ।
राप्ती रोडमा कपडाको व्यवसाय गरिरहेका अर्का एक व्यवसायीले पनि सरकारप्रति समान माग राख्दै भने हामी विकासका विरुद्ध होइनौँ, तर ऋण लगानी गरेर व्यवसाय गर्दा अचानक स्थानान्तरणको व्यवस्था नहुँदा ठूलो मार पर्छ।” उनका अनुसार सरकार मौन रहिरहे व्यवसायीहरू विस्तारको विपक्षमा उभिन बाध्य हुन्छन् ।
एसियन हाईवेअन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने २५ मिटर चौडाइको सडक विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन। पटक–पटक योजना आएको भए पनि सरकारी निकायको निष्क्रियता र राजनीतिक स्वार्थका कारण काम अघि बढ्न सकेको थिएन। तर यसपटक भने हेटौंडालाई व्यवस्थित र सुरक्षित सहर बनाउन डिभिजन कार्यालय दृढतासाथ अघि बढ्ने प्रमुख अधिकारीले बताएका छन्।










