मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्योः मुख्यमन्त्री यादव
कठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाउनुभएको छ ।
शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उहाँले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गर्नुभएको हो ।
मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाई थियो । मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको बताउनु भयो । सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उहाँले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी समेत गर्नुभयो । उहाँले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि उल्लेख गर्नुभयो ।










