पत्रकार भोजराज थापा रास्वपाबाट चुनाव लड्ने तयारीमा

संवाददाता
२०८२ कार्तिक २९, शुक्रबार १२:१८

काठमाडौं । चर्चित पत्रकार भोजराज थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट चुनाव लड्ने तयारीमा लागेका छन्। पत्रकारितासँगै समाजसेवामा सक्रिय रहेका थापा निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट चुनाव लड्ने जर्मको गरिरहेका छन् ।

थापा र रास्वपाका शीर्ष तथा स्थानीय तहका नेताहरूबीच पछिल्ला दिनमा निरन्तर संवाद चलिरहेको बताइएको छ,भने पछिल्लो समय नक्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग पनि संवाद गरेका खुलेको छ ।

स्रोतहरूको दाबी अनुसार, ‘संवाद अत्यन्तै सकारात्मक’ रहेकाले थापा अब पार्टीको औपचारिक निर्णयको प्रतीक्षामा छन्। उनी चुनावी तयारी, स्थानीय राजनीतिक समीकरण र भोटर बेसको विश्लेषणमा जुटिसकेको बताइएको छ। पार्टीले अन्तिम कागजी प्रक्रिया पूरा गरेपछि उनी सार्वजनिक रूपमा चुनावी मैदानमा उत्रिने अनुमान गरिएको छ।

यस क्षेत्रबाट गत निर्वाचनमा हालको नेपाली कम्युनिस्ट पार्टी र त्यतिबेलाको नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी विजयी भएका थिए। चौधरीले त्यतिबेला नेकपा एमालेकी नेतृ शान्ता चौधरीलाई पराजित गर्दै निर्वाचन जितेका थिए।

दाङ १ लाई वामपन्थी पकड रहेको क्षेत्रको रुपमा लिइन्छ। यस्तो अवस्थामा रास्वपाले सफल पत्रकारिताको पृष्ठभूमिबाट आएको, सार्वजनिक छवि बलियो रहेको व्यक्तिलाई अघि सार्ने तयारी गरेको छ ।

रास्वपाभित्र अन्तिम छलफल केही दिनमै टुंगिने अपेक्षा गरिँदैछ। सहमति बनेपछि थापा दाङ–१ बाट उम्मेदवार घोषणा हुन सक्ने अनुमान छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*