बागमती प्रदेशसभा ठप्प: कांग्रेस–एमालेबीच सभामुख पदमा सहमति नजुट्दा बैठक बस्न सकेन

संवाददाता
२०८२ कार्तिक १९, मंगलवार १०:२७

हेटौंडा । बागमती प्रदेशमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच सभामुख पदको भागबण्डा टुंगोमा नआउँदा प्रदेश सरकार सञ्चालनमै असर पर्न थालेको छ। राजनीतिक शक्ति सन्तुलनका हिसाबले संवेदनशील बनेको सभामुख पदका कारण प्रदेशसभा मात्र होइन, सरकारका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसमेत ठप्प भएको छ।

सभामुख भुवन कुमार पाठकले दिएको राजीनामा स्वीकृत नहुँदा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्न सकेको छैन। प्रदेशसभा सचिवालयका अनुसार बैठक बोलाएर मात्र राजीनामा स्वीकृत गर्न सकिने भए पनि सत्ता साझेदार दलहरूबीच सहमति नजुट्दा बैठक नै आह्वान हुन सकेको छैन।

यसबीचमा प्रदेशसभा भवन र बैठक हल मर्मत पूरा भएर तयारी अवस्थामा पुगे पनि राजनीतिक विवादका कारण सभा सञ्चालनको वातावरण बनेको छैन। कांग्रेस र एमालेबीच पछिल्ला छलफलहरू पनि निष्कर्षविहीन भएका छन्।

सांसदहरूले लामो समयदेखि विधायकी काम ठप्प हुँदा जनताको मुद्दा, बजेट कार्यान्वयन र विकास आयोजनाहरू प्रभावित भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले सभामुख पदका विषयमा दलहरूले लचिलोपन देखाएर तत्काल सहमति गर्न आग्रह गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*