माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ
पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनु भयो ।
कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गर्नुभयो । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरु लाग्ने बताउनु भयो ।











