ढुङ्गा झरि कान्तिलोकपथ सडक खण्ड पूर्ण अवरुद्ध
हेटौँडा। मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सडक माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ६ः५५ बजे माथिबाट ठूला ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।
घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जितपुर, मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाटो खुलाउने कार्यका लागि स्थानीय निकायसँग समन्वय जारी रहेको प्रहरीले जनाएको छ।
उक्त अवरुद्ध स्थान अस्थायी प्रहरी पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ। हालसम्म कुनै मानविय क्षति भएको जानकारी प्राप्त भएको छैन। सडकमा अवरुद्ध ढुङ्गा हटाउने कार्य सम्पन्न भएपछि सवारी आवागमन सहज हुने प्रहरीले जनाएको छ।










