झापामा प्रहरीको हतियार लुट्ने आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ
झापा । झापा दमकका १८ वर्षीय आदित्य लिम्बु खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनले भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर भिडियो र फोटो बनाएका थिए। उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, लिम्बु सहित आठ जनाको समूहलाई भुटानी शरणार्थी शिविर क्षेत्रबाट शनिबार साँझ पक्राउ गरिएको हो। शनिवार साँझ ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट ७.८ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
आदित्य सहित पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल रहेका छन् । उनी भदौ २४ मा उर्लाबारी प्रहरी हिरासतबाट फरार भएका थिए। पक्राउ परेका अन्य व्यक्तिहरूमा २७ बर्षका साजन थापा , ३२ बर्षका दिपेश तामाङ ,३२ बर्षका सनम राई , १९ बर्षिया पविन विश्वकर्मा , २५ बर्षका सुचन दर्जी र २५ बर्षका विजय माझी रहेका छन् ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।










