पूर्वी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्क रहन विज्ञको आग्रह
काठमाण्डौं । कोशी, तमोर, अरुण र सुनकोशी नदीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी नदीहरूमा लगातारको वर्षाले गर्दा जलस्तर उच्च भएको हो।
यसैगरी, बागमती र कमला नदीमा भने जलस्तरमा केही घट्ने संकेत देखिएको छ। तर, पूर्वी तथा तराई क्षेत्रका विभिन्न स–साना नदीहरूमा अचानक बाढी ( flash flood) को जोखिम कायमै छ।
आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा र धनुषा जिल्लामा पर्ने स–साना नदीहरूमा एक्कासि बाढी आउनसक्ने खतरा उच्च रहेको जनाइएको छ।
जल तथा मौसम विशेषज्ञहरूले डुवान सम्भावित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। जोखिममा रहेका स्थानमा आवश्यक सावधानी अपनाउँदै सुरक्षित स्थानमा सर्ने तयारी गर्न पनि सुझाव दिइएको छ।











