जेन—जी आन्दोलन असरः ‘नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ’

संवाददाता
२०८२ भाद्र २९, आईतवार १३:५७

काठमाडौं । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना क्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकारको हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षतिमा व्यहोर्नेछ । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अली बढी प्रताडित हुनेछ । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अगाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना तयारी अवस्था थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बिचमा नै बन्द गर्नुपर्‍यो ।

आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिन्थ्यो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा ब्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पु¥याउन आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो ।
अब कहिले हुन्छ भने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुग्यो ।ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्‍याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ ।

आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमा नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै यति क्षति भयो भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गयौं । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर पर्नेछ,’उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर परेको छ । एउटा व्यवसायिक खुसी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडीबाट त्रसित भएपनि आफुहरू सम्झाएको उल्लेख गरे ।

उनले भारतका एमपी विक्रम साहनी र भारतीय एम्बेसीको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नो देश पठाउन सफल भएको बताए ।
व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपिएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधारहरू हुन् । तर, देशको राजनीति अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन ।

आयोजकहरू पनि यस्ता प्रतियोगिता गर्न धेरै पल्ट सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्नेछ । यसबीच एनपिएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपिएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपिएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घरना रहेको र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपिएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने उल्लेख गरे ।

‘एनपिएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी ट्वान्टी विश्वकप छनोटका वेस्ट इन्डिज टुरको तयारीमा छौं र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौं,’लामाले भने । आन्दोलन चर्किंदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा)महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।
काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिवार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको छ । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औं एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थिए । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिष(राखेप)राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्थामा सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए ।

भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति व्यहोर्नुपरेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साह गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई पछिल्लो घटनाले ठूलो क्षति पु¥याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*