मकवानपुरमा जेनजी आन्दोलनबाट ३३ संरचना खण्डहरमा परिणत
हेटौंडा । देशभर भएको जेनजी आन्दोलनले देशभर झैं मकवानपुरमा पनि ठूलो विध्वंस मच्चाएको छ । भ्रष्टाचार, सरकारी व्यवस्था र सामाजिक अन्यायविरुद्ध उठेका युवाहरूको आन्दोलनले सरकारी तथा सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको छ ।
भदौ २३ गते आन्दोलन उत्कर्षमा पुग्दा मकवानपुर जिल्लामा मात्रै ३३ वटा सरकारी, राजनीतिक,सार्वजनिक तथा निजी संरचनाहरू खण्डहरमा परिणत भएका छन् भने तोडफोड भएका समेत गर्दा ३८ भन्दा बढी संरचनामा क्षती पुगेको छ । आन्दोलनकारी जेनजीहरूले “भ्रष्टाचारबाट संचित सम्पत्तिको अन्त्य” भन्दै सरकारी कार्यालय, नेताहरूका घर, र सार्वजनिक संरचनाहरूलाई आक्रमणको मुख्य निशाना बनाएका थिए ।
हेटौंडा–१० मा रहेको प्रदेशसभा सचिवालय, बागमती प्रदेशको प्रदेशसभा भवन, आन्तरिक राजस्व कार्यालय मकवानपुर, र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान १० नम्बर वडा कार्यालय क्षतिग्रस्त भएका छन् ।
हेटौंडा–१ स्थित चारवटा मन्त्रालयहरू — कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी तथा ऊर्जा सिंचाइ मन्त्रालय, र भौतिक पूर्वाधार विकास मन्त्रालय — मा समेत व्यापक तोडफोड र आगजनी भएको छ ।
हेटौंडा–२ मा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, लोक सेवा आयोग, उच्च अदालत पाटनको हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर, सरकारी वकिल कार्यालय, प्रमुख सचिवको निवास, मालपोत कार्यालय, नापी कार्यालय, प्रदेश आपतकालीन आपूर्ति केन्द्र, हेटौंडा उपमहानगरपालिकाको कार्यालय, सहरी विकास तथा भवन कार्यालय, सक्षित् कार्यालय हेटौंडा, कर्मचारी सञ्चय कोष हेटौंडा र निजी स्वामित्वको भाटभटिनी सुपरमार्केट समेत आन्दोलनको चपेटामा परेका छन् ।
हेटौंडा–११ मा रहेका सहकारी तथा गरिबी निवारण मन्त्रालय, यातायात व्यवस्था कार्यालय, यातायात सेवा कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ ।
राजनीतिक तथा व्यक्तिगत सम्पत्तिहरूमा पनि आन्दोलनकारीको आक्रोश देखिएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको घर, मकवानपुर एमाले पार्टी कार्यालय, हालका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निजी घर, वडा नम्बर ३ को कार्यालय भवन, वडा नम्बर ४ को कार्यालय भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको घर, बकैया गाउँपालिका कार्यालय, मनहरी गाउँपालिका कार्यालय, मकवानपुर कांग्रेस पार्टी कार्यालय, संघीय सांसद महेश कुमार बर्तौलाको घर, र बागमती प्रदेश सभा सांसद एकालाल श्रेष्ठको घरमा समेत तोडफोड र आगजनी भएको छ ।










