आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरूमध्ये १६६ जना नियन्त्रणमा
हेटौंडा । आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म १६६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुराकी तथा कारबाहीका आधारमा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
मकवानपुर जिल्लाको भिमफेदी कारागारमा एक नाबालक सहित १ हजार ६६ कैदी संख्या रहेकोमा ४ सय ४० कैदी भागेका थिए । भने नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुराकी तथा कारबाहीका आधारमा ७८ जना कैदी नियन्त्रणमा परेका छन् । ३ सय ६२ जना कैदी अझै फरार रहेका छन् । त्यसै गरि मकवानपुरको बाल सुधार गृहबाट पनि ९४ जना रहेकोमा ७२ जना भागेका थिए । भने ४१ जनालाई नियन्त्रणमा लिइएको छ । अझै ३१ जना फरार रहेका छन् ।
त्यसै गरि डिल्लिबजारमा रहेको नख्खु कारागारका ७ जना ,जगन्नाथदेवलमा रहेको केन्द्रिय कारागारको २ जना , कास्की कारागारको १ जना, तनहुँ जिल्ला कारागारको २ जना र अन्य कारागार कार्यालय खुल्न बाँकी रहेको स्थानका ३५ जना प्रकाउ परेका छन् ।
सुरक्षा निकायहरूले बाँकी फरार कैदीहरूको खोजी कार्य तीव्र बनाएका छन्। सम्बन्धित निकायहरूले नागरिकलाई सतर्क रहन र कुनै पनि सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्।
सरकारले जनताको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ र कारागार प्रशासन प्रणालीमा आवश्यक सुधारका लागि पहल सुरु भइसकेको बताएको छ।










