गृहमन्त्री रमेश लेखकले दिए पदबाट राजीनामा
काठमाडौं। जेनजी पुस्ताको प्रदर्शनमा कम्तीमा १९ जनाको ज्यान जाने गरी भएको नृशंक दमनपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिएका छन् ।
पार्टीबाहिर मात्र नभई पार्टीभित्रैबाट पनि राजीनामाको दबाब आएपछि अन्ततस् उनी पद त्याग गर्न तयार भएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए। बैठकका एक सहभागीका अनुसार लेखकले दिनभरका घटनक्रमबारे बैठकलाई जानकारी गराए।
बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शन सर्वसाधारणको मृत्य तथा घाइते प्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई सुझाव दिए।
जेनजीको प्रदर्शनमा मात्र नभई यसअघि गत वैशाख १५ गते राजावादीहरूले गरेको आन्दोलनमा समेत सुरक्षाको उचित व्यवस्थापन गर्न नसकेको, अत्यधिक बल प्रयोगका कारण जनधनको ठूलै क्षति पुगेको भन्दै लेखकलाई मार्ग प्रशस्त गर्न नेताहरूले सुझाव दिएका थिए ।











