एमालेमा केपी ओलीको विकल्प छैन : नेता थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्।
समकालीन राजनीतिमा केपी ओलीको विकल्प देशमै नभएको अझ एमालेमा झन् हुँदै नभएको थपलियाको भनाई छ।
देशमा विकासका नयाँ नयाँ मोडलहरू ल्याउने नेता ओलीमात्र रहेको भन्दै ओली अहिलेको समयमा पार्टी र राष्ट्रको आवश्यकता भएकै कारणले उहाँलाई एमालेको नेतृत्वमा पुन ल्याउनुपर्ने उनको भनाइ रहेको छ। नेकपा एमालेको एघारौं महाधिवेशन मार्फत पार्टीको संगठनात्मक संरचना र आन्तरिक विधानमा सुधार गर्ने उद्देश्यले ऐतिहासिक निर्णयहरू गरेको पनि उनले बताएका छन्। पार्टीको नवौँ केन्द्रीय कमिटीको बैठकमा भएका प्रमुख निर्णयहरू विधान महाधिवेशनमा छलफलको लागि प्रस्तुत गरिने जानकारी दिएका छन्।
एमालेको विधान महाधिवेशन भदौ २० गतेबाट ललितपुरमा सुरु हुँदैछ। थपलियाको अनुसार उमेर हद सम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण फेरबदल गरिँदैछ। यसअघि ७० वर्ष उमेर पुगेपछि नेतृत्वमा जान नपाउने निर्णय खारेज गरिनेछ। उमेर हदबन्दी नरहने विषयमा महाधिवेशनमा थप छलफल गरिनेछ । १० औँ महाधिवेशनमा कायम गरिएको ७ उपाध्यक्षको व्यवस्थालाई संशोधन गरी यसपटकको महाधिवेशनबाट तीन उपाध्यक्षमा झारिने पनि उनले बताएका छन्। ठुलो संरचनाले निर्णय प्रक्रियामा जटिलता ल्याउने भएकोले संख्यात्मक कटौती गरिने उनले बताएका छन्। यसैअनुसार पार्टीको केन्द्रीय कमिटीको सदस्य संख्या ३५० बाट खटाएर २५१ मा छारिने बताएका छन् ।
यसैगरी चीन र भारतले नेपाली भूभाग लिपुलेक र लिम्पिया धुरा हुँदै व्यापारिक मार्ग खोल्न गएको सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको असहमतिको प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रहितको पक्षमा चिनिया राष्ट्रपति सी जिङपिङसँग कुटनीतिक ढंगले आवाज उठाएको भन्दै नेता थपलियाले उक्त साहसप्रति सम्मान व्यक्त गरेका हुन्। नेपाललाई सानो भूभाग देखेर हेपिएको प्रति असन्तुष्टि जनाउँदै उनले ओलीको राष्ट्रवादी अभिव्यक्तिलाई प्रशंसनीय भएको बताएका छन् ।
महाधिवेशनमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका बारे पनि छलफल हुने उनले बताएका छन्। भण्डारीलाई पार्टीले सम्मानपूर्वक स्थान दिने निर्णय भएको बताउँदै सम्मानजनक भूमिकामा राखिने र उनको गरिमामा ठेस लाग्न नदिने स्पष्ट पारेका छन् ।
पार्टीको भावी नेतृत्व संगठनात्मक संरचना र आन्तरिक विधान परिमार्जन गर्ने लक्ष्य सहितको एघारौं महाधिवेशनलाई एमालेले ऐतिहासिक मोडका रुपमा लिएको छ।










