बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप

संवाददाता
२०८२ भाद्र १८, बुधबार १२:२४

बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ ।

लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट आउने, शरीर सुन्निने र जनावर अशक्त देखिने जस्ता लक्षणहरू देखिन्छन् । पछिल्लो समय चितवन जिल्लामा यो रोग तीव्ररूपमा फैलिएको छ । यही रोगको प्रभाव न्यूनिकरणका लागि खोप अभियानको सुरुवात ललितपुर जिल्लाबाट गरिएको थियो । भने त्यसपछि क्रमशः अन्य १३ वटै जिल्लामा अभियान सञ्चालन गरिएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले जानकारी दिए ।

लम्की स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रम अन्तर्गत सिन्धुलीमा १० हजार ३ सय २८ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । त्यसै गरिरामेछापमा ४ हजार ४ सय ३७ , काठमाडौँमा ४ हजार ३ सय ५० , ललितपुरमा ३ हजार ६ सय ६, भक्तपुरमा १ हजार ५ सय ४३ , धादिङमा ६ हजार ५१ , काभ्रेपलाञ्चोकमा ७ हजार ६ सय ९८ वटा गाईभैँसीमा खोप लगाइ सकिएको छ । त्यसै गरि नुवाकोटमा ७ हजार ७ सय २४ , रसुवामा ३ हजार ६ सय ३४ , दोलखामा ९ हजार ९ सय ८२, सिन्धुपाल्चोकमा ६ हजार २ सय ८४ , चितवनमा ६ हजार १५ र मकवानपुरमा २४ हजार ६ सय ९५ गाईभैँसीमा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर कुल गाईको संख्या ६ लाख ९४ हजार २ सय १७ रहेको छ भने भैँसीको संख्या ५ लाख ४९ हजार १ सय ८२ रहेको छ । ती पशुहरूले वार्षिक रूपमा जम्मा ४ लाख ८१ हजार ७७१ मिल्क टन दूध उत्पादन गर्ने गरेका छन्। जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेको देखिन्छ, जहाँ सात स्थानीय तहमा ९२ हजार २ सय ५६ गाई र ७२ हजार २ सय भैँसी छन्। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु गरिएको खोप कार्यक्रम निरन्तर अहिले पनि जारी रहेको मन्त्री पौडेलले बताए ।

आर्थिक वर्ष २०८०र८१ मा बागमती प्रदेशमा मात्र ११ हजार २१८ गाई तथा भैँसी लम्पी स्किन रोगका कारण मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। सोही अवधिमा ३७ हजार ८९ गाईभैँसी संक्रमित भएका थिए भने कुल २ लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए। यसअघि नै प्रदेशभर २ लाख ४५ हजार २२२ गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*