भूमि समस्या समाधान आयोगको कामलाई सफल पार्न एमाले हेटौँडाको आग्रह
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हेटौँडा उपमहानगरपालिका कमिटीले भूमि समस्या समाधान आयोग, मकवानपुरको कामलाई सफल बनाउन सबै सरोकारवालाहरुलाई सहयोग गर्न अपिल गरेको छ।
कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तथा व्यवस्थापन गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइरहेको उल्लेख गरेका छन्।
आयोगले यसअघि लगत संकलनमा छुट भएका व्यक्तिहरुलाई लक्षित गर्दै २०८२ साउन ३० गते अन्तिम पटक ३५ दिने सूचना प्रकाशित गरी निवेदन दिन आग्रह गरिसकेको जानकारी गराउँदै, एमाले हेटौँडा उपमहानगर कमिटीले तोकिएको समयसीमाभित्र सम्पर्क गरी निवेदन पेश गर्न सम्बन्धित सबैलाई आह्वान गरेको छ।











