विपिन जोशीको रिहाइका लागि नेपाल सरकार हर सम्भव प्रयासमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकार हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत विपिनको सुरक्षालाई सरकारको प्राथमिक जिम्मेवारी भन्दै, कूटनीतिक स्तरमा निरन्तर प्रयास भइरहेको उल्लेख गरेका हुन्। परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासहरूमार्फत सम्बन्धित पक्षहरूसँग निरन्तर संवाद गरिरहेको छ।
प्रधानमन्त्रीले विपिनका परिवारसँग सरकार पूर्ण रूपमा साथमा रहेको पनि बताए। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशीर बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानालाई भेटी बिपिनको रिहाइका लागि आग्रह गरिसकेको जनाइएको छ।
यसै क्रममा प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान (चैत ७ गते) र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सीसी (फागुन २८ गते) टेलिफोन वार्ता गर्दै यो विषयमा ध्यानाकर्ष गराइसकेको जानकारी पनि दिएका छन्।










