युवाहरू नै दीगो भविष्यको आधारस्तम्भ : प्रदेश प्रमुख देवकोटा
हेटौंडा । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले युवाहरूलाई राष्ट्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै उनीहरूलाई आत्मचेतना, अनुशासन र सेवामूलक दृष्टिकोणले जीवन जिउन आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागद्वारा आयोजित ‘दीगो भविष्यका लागि युवा सशक्तीकरण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले युवाशक्तिलाई राष्ट्र निर्माणको सबैभन्दा महत्वपूर्ण स्रोतको रहेको बताएका छन् ।
“युवा शक्ति विबेक, संस्कार र सेवाभावका वाहक हुन्। जब युवाहरू आत्मचेतना, अनुशासन र सेवामूलक दृष्टिकोणले अगाडि बढ्छन्, तब मात्र राष्ट्रले उज्यालो र स्थायी गन्तव्य हासिल गर्न सक्छ,” देवकोटाले भने।
उहाँले विकासको गति मात्र होइन, त्यसको गुणस्तर र स्थायित्वमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। दीगो भविष्य भौतिक समृद्धिमा मात्र सीमित नभई नैतिकता, अनुशासन, सामाजिक सद्भाव, आन्तरिक शान्ति र आध्यात्मिक चेतनासँग गाँसिएको समृद्धि हो भन्ने उहाँको भनाइ रहेको छ ।
प्रदेश प्रमुख देवकोटाका अनुसार ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना त्यतिबेलामात्र सम्भव हुन्छ, जब युवा वर्ग शारीरिक, मानसिक, बौद्धिक, नैतिक र आध्यात्मिक हिसाबले सशक्त हुन्छन्।
“धेरै मानिसहरू असफल क्षमता नभएर होइन, त्यसलाई नचिनेर असफल हुन्छन्। युवाहरूले आफ्ना क्षमतालाई चिन्न सक्नु पर्ने र समाजले पनि युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने प्रदेश प्रमुख देवकोटाले बताएका छन् ।










