बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् । ११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ। त्यसै गरि मत दिन्न भन्ने पक्षमा ७ मत रहेको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (४) बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन् ।
सत्ता गठबन्धनको एक मत भने अनुपस्थित थिए । कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उस्थित भएनन् ।
बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य छन्। त्यस्तै एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपालमजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य रहका छन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै जारी गरेका थिए ।












