ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान

अम्बिका बस्नेत
२०८२ श्रावण २८, मंगलवार १३:२४

हेटौंडा । मकवानपुरका किसानहरू पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् पदमपोखरीका कृषक फेन्चु लामाले १ विघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले रेड साइन र सी भेराइटी अमेरिकन ब्युटि र सेतो प्रजाती गरी चार जातका ड्रागन फ्रुट लगाएका छन् यसको आयु झण्डै १५ वर्षसम्म रहने गर्दछ।

ड्रागन फ्रुटको मुख्य माग बैशाखदेखि कात्तिक महिनासम्म रहने भए पनि वर्षभरि नै उत्पादन सम्भव हुने भएकाले बजार सधैंजसो कायम रहने लामाको भनाई छ। लामाले आफ्नो फार्ममा दुई विधि प्रयोग गरेका छन्—टेलिसिस्टम र पोलिङ सिस्टम। टेलिसिस्टममा बढी स्याहार–सुसार आवश्यक पर्छ भने पोलिङ प्रणाली तुलनात्मक रूपमा सजिलो र व्यवहारिक मानिन्छ। बोटहरू पोल टु पोल ३ मिटरको दूरीमा र ड्याङ ४ मिटर फराकिलो बनाएर रोप्नुपर्ने लामाले बताए।

उक्त खेतीबाट उत्पादन हुने ड्रागन फ्रुट साइजअनुसार फरक मूल्यमा बिक्री हुँदै आएको छ। ठूलो साइजको प्रतिकिलो ३५० रुपैयाँ र सानो साइजको ३०० रुपैयाँमा बिक्री हुने गरेको लामा बताउँछन्। एउटा बिरुवाबाट वार्षिक औसत २ किलोसम्म फल फल्ने गर्छ, जुन हरेक वर्ष क्रमशः बढ्दै जान्छ।

हाल एउटा पोलमा बिरुवा उत्पादन गर्न करिब २५ सय रुपैयाँ खर्च लाग्ने गरेको र यसअघि एक पोलमा बिरुवा राख्न करिब ४ हजार रुपैयाँ लागत लाग्थ्यो, तर अहिले १०० रुपैयाँमै बिरुवा पाइने भएकाले लागत घटेको लामाको भनाइ छ लामाले हालसम्म २ हजार किलो ड्रागन फ्रुट उत्पादन गरिसकेका छन्। आगामी वर्षहरूमा वार्षिक ५ हजार किलो उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। हाल १ किलो ड्रागन फ्रुट उत्पादनमा करिब २५० रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ।

बैंकबाट ऋण लिएर किस्ताबन्दीमा तिर्दै आएका लामा वार्षिक झण्डै ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। सम्पूर्ण खर्च कटाएर र ऋण किस्ता तिरेपछि वार्षिक ५ देखि १० लाख रुपैयाँ नाफा हुने गरेको उनी बताउँछन्। लामाले आफ्नो फार्मलाई अनुसन्धान केन्द्रका रूपमा पनि उपयोग गरिरहेका छन्। कृषि क्षेत्रमा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यले फार्मलाई भविष्यमा उद्योगका रूपमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

उनको विश्वास छ “कृषि पेशा अपनाएर पनि आफू र परिवारले गुणस्तरीय जीवन बिताउन सकिन्छ।”

तर, ड्रागन फ्रुट खेतीमा केही चुनौतीहरू पनि छन्। बढी वर्षा भएमा फंगल डिजिज ९ढुसी रोग० देखिने, कमिला लाग्ने र बिरुवा कुहिने समस्या देखिने भएकाले विशेष सावधानी आवश्यक हुने लामाले बताए। स्थानीय सरकार, विशेषतः हेटौंडा उपमहानगरपालिकाले लामालाई सिँचाइको लागि पानीको व्यवस्था, टनेल निर्माण तथा पांगारिक मलमा सहयोग गरेको छ। साथै, कृषि एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ।

हाल मकवानपुर जिल्लामा झण्डै १०० जना कृषक ड्रागन फ्रुट खेतीमा संलग्न छन्। राजधानी काठमाडौं लगायत अन्य शहरहरूमा यसको माग उच्च भएकोले किसानहरूमा अझ उत्साह बढेको देखिन्छ।

देशमा सम्भावना छैन भनेर विदेशिने युवाहरूका लागि लामा प्रेरणादायी उदाहरण बनेका छन्। अरूको देशका लागि आफ्नो जवानी खर्चिनुभन्दा आफ्नै देशमा मिहिनेत गरेर समृद्धि हासिल गर्न सकिन्छ, भन्ने धारणा राख्ने लामाले गणितमा स्नातकोत्तर गरेर शिक्षण पेशाबाट सुरूवात गरेका थिए। पछि भेटेनरी अध्ययन गरेपछि कृषि क्षेत्रमा लागेका उनी श्रीमतीसँगै फार्म सञ्चालन गरिरहेका छन्। श्रीमती कृषि जेटिए रहेकी छन् भने फार्ममा थप ४ जना कर्मचारी कार्यरत छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*