बागमतीको छौंटा मुख्यमन्त्रीमा बानियाँ नियुक्त
हेटौंडा । बागमती प्रदेशको छौंटो मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ नियुक्त भएका छन् ।
प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बानियाँले हिजो साउन १९ मा कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यहरूले आज (मंगलबार ) दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदको दाबी पेश गर्न आह्वान गरिएको थियो । सोहि आह्वान अनुसार बानियाँले हिजो नै दाबी पेश गरेका हुन् ।
बागमती प्रदेशमा बानियाँले मुख्यमन्त्रीका रूपमा आज सपथ ग्रहण गरेसँगै नेकपा एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुंगिएको छ। एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई सपथ लिने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने भएका छन् । दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर हुन्।
एमालेका तर्फबाट सम्भावित मन्त्रीहरूको विवरण यसप्रकार छः
किरण थापा मगर – स्वास्थ्य मन्त्री पुनः नियुक्त,जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री (काठमाडौँ) ,भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री (दोलखा) ,मधुसुधन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री (ललितपुर) , डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री (काठमाडौँ), बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री (काठमाडौँ) रहेका छन् ।
आज दिउँसोसम्म कुनै फेरबदल नभए यी नामहरू अन्तिम हुने र उनीहरूले आजै सपथ लिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ। यता, सत्ता साझेदार नेपाली कांग्रेसबाट भने प्रारम्भिक चरणमा दुई जना मात्र मन्त्री नियुक्त हुने सम्भावना रहेको बुझिएको छ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १८ साउनमा राजिनामा दिए पछि बानियाँले १९ साउनमा मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । आफ्नै पार्टीबाट राजनितीक दबाब बढ्दै गएपछि लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
बानियाँले २०४४ सालमा राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै अहिले बागमती प्रदेशको शीर्ष नेतृत्वमा पुगेको छ। बानियाँ २०७३ सालमै केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन् । फागुन २०७३ सालमा गृह राज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए । तत्कालीन सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको थियो ।
२०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै तीन तहको सरकार गठन हुने भएपछि बानियाँ प्रदेशसभा निर्वाचन लडेका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुगेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।
एक वर्षअघिको सहमतिअनुसार कांग्रेस र एमालेले २०–२० महिना प्रदेशको नेतृत्व गर्ने सहमति गरेका थिए । यस अघि १३ पुष २०७९ मा बानियाँलाई पराजित गर्दै लामा दलको नेतामा निर्वाचित भएका थिए । उक्त बखत लामाले २१ मत पाएका थिए,भने बानियाँले १६ मत मात्र पाएर दलको नेताबाट हार बेहोरेका थिए । सो उल्टाउदैं लामा विरुद्ध साउन ९ मा अविश्वासको प्रस्ताव गरियो । त्यस लगत्तै १३ साउनमा मतविभाज हुँदा २२ मत ल्याएर बानियाँ बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए । यसरी बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएसँगै कांग्रेसको विधान अनुसार प्रदेश मुख्यमन्त्रीको लागि बानियाँलाई ढोका खुलेको थियो ।










