इन्द्रबहादुर बानियाँ नियुक्त हुँदै बागमती प्रदेशका छैठौं मुख्यमन्त्री, बहादुरसिंह लामाको राजीनापछि सत्ता समीकरणमा नयाँ मोड
बागमती प्रदेशको राजनीतिक घमासान अन्ततः टुंगोमा पुगेको छ। लामो समयदेखि कांग्रेसभित्र चलिरहेको गुटीय विवाद, नेतृत्वको असन्तुष्टि र अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनको स्थानमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय नेताको रूपमा परिचित बानियाँको राजनीतिक यात्रा झण्डै चार दशक लामो छ। मकवानपुरको हर्नामाडीमा २०२७ सालमा जन्मिएका बानियाँले २०४४ सालमा राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै अहिले बागमती प्रदेशको शीर्ष नेतृत्वमा पुगेको छ।
२०८१ आठ साउनमा बहादुरसिंह लामा मुख्यमन्त्री बनेसँगै प्रदेशको नेतृत्व कांग्रेसले लिएको थियो। यद्यपि, एक वर्षअघिको सहमतिअनुसार कांग्रेस र एमालेले २०–२० महिना प्रदेशको नेतृत्व गर्ने सहमति गरेका थिए। लामाले नुवाकोटबाट कांग्रेसको तर्फबाट पहिलो पटक मुख्यमन्त्रीको पद सम्हालेका थिए। तर, समयको चालले परिस्थिती बदलिएको छ।
आगामी बजेट तथा कार्यसम्पादनको विषयमा कांग्रेसभित्रको असहमतिले सरकारभित्रै दरार ल्यायो। प्रमुखतस् बानियाँपक्षीय नेताहरूले लामा नेतृत्वको आलोचना गर्दै सत्ता समीकरणलाई नै उल्ट्याउने तयारी थाले। लामामाथि संसदीय दलमै विश्वास गुमेको भन्दै कांग्रेसकै २२ जना सांसदले उनको विपक्षमा मत दिएपछि उनी दलको नेताबाट पदच्युत भए। साथै, मन्त्रीपरिषद्मा रहेका चारजना कांग्रेस मन्त्रीले एकैपटक राजीनामा दिएपछि लामाको नेतृत्व संकटमा पर्यो।
यसपछि, नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भए। संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्न सक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका हुन्। कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ।
यता मुख्यमन्त्री लामाले असहयोग, स्वार्थ समूहको दवाब र राजनीतिक षड्यन्त्रको शिकार भएको बताएका छन्। राजीनामा घोषणापछि उनले आफ्नो कार्यकाल इमान्दारिता र निष्ठासाथ सञ्चालन गरेको दाबी गरे। तर, संसदीय बहुमतको यथार्थले उनलाई पदबाट बाहिरिन बाध्य बनायो।
सोमबार लामा पक्षबाट प्रदेश प्रमुख कार्यालयमा राजीनामा पत्र बुझाइएपछि मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनको लागि मुख्यमन्त्री दाबी पेस गर्न आह्वान गरे। आज दिउँसो २ बजेसम्मको म्यादभित्र इन्द्रबहादुर बानियाँले कांग्रेस र एमालेको समर्थनसहित मुख्यमन्त्रीको दाबी दर्ता गराएका छन्।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो ४ बजे बानियाँको शपथ ग्रहण समारोह तय गरेको छ। बानियाँले शपथ लिँगेपछि तत्काल मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ। प्रारम्भिक जानकारी अनुसार सत्ता साझेदार दल एमालेबाट मन्त्रीहरूको नाम तोकिएको छ।
नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा । दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
यद्यपि, बानियाँ नेतृत्वको सरकारको स्थायित्व अझैपनि राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ। खासगरी आगामी आठ महिनामा उनले कांग्रेस र एमालेबीचको सत्ता बाँडफाँड, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती छ।
बानियाँको अगुवाइमा बनेको यो गठबन्धन सरकारले प्रदेशमा स्थायित्व कायम गर्न सक्छ कि सक्दैन, त्यसले आगामी संघीय राजनीतिलाई समेत प्रभाव पार्नेछ।











