काटँघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो

संवाददाता
२०८२ श्रावण २०, सोमबार १०:१५

बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने चारकोसे झाडीको मध्यभागमा अवस्थित काँटघाँट महादेव मन्दिर ९सहजनाथ महादेव० मा साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ ।

काँटघाँट महादेव मन्दिर दर्शन गर्नको लागि यहाँ आन्तरिक मात्रै नभई भारतलगायत देशहरुबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। यहाँ मनले मागेको कामना पुरा हुने जनविश्वास रहेको छ। यही आस्थाका कारण विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूबाट पनि भक्तजनहरूको घुईचो लाग्ने गरेको छ।

मन्दिरमा सन्तान प्राप्तिको कामना, घरपरिवारको सुख(शान्ति र समृद्धिका लागि भक्तजनहरू दर्शनार्थ आउने गर्दछन्। विशेषतः साउन महिनाको आइतबार र सोमबार मन्दिरमा ठूलो भिड लाग्ने गर्छ। मन्दिरका पुजारीका अनुसार सोमबार मात्रै झण्डै ५० हजार भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका छन् ।
पछिल्ला वर्षहरूमा काँटघाँट महादेव मन्दिर तराई क्षेत्रका बोलबम यात्रुहरूको प्रमुख गन्तव्य बनेको छ। बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुर लगायतका जिल्लाबाट श्रद्धालुहरू बागमती नदीबाट ३७ किलोमिटर पैदल यात्रा गरी पवित्र जल ल्याएर मन्दिरमा अर्पण गर्ने गर्दछन्। एक महिनाअघि देखि नै शुद्ध शाकाहारी बनेर यात्रा प्रारम्भ गर्ने भक्तजनहरू काँटघाँट मन्दिरमा जल चढाउने परम्परालाई निरन्तरता दिंदै आएका छन् ।

सहजनाथ महादेवलाई स्थानीयबासीहरू ‘जङगली बाबा महादेव’ को नामले समेत पुकार्ने गरेका छन् । किंवदन्तिअनुसार सत्ययुगमा भगवान शिवले यही चारकोसे झाडीको क्षेत्रमा सहजरूपमा वनविहार गरी विश्रामको मान्यता रहि आएको छ । त्यसै कारण यहाँका बासिन्दाहरूले यो स्थललाई पवित्र मानी पूजाआजा गर्दै आएका छन्।

राजमार्गबाट झण्डै ४ किमी दक्षिणतर्फ घना जङ्गलको मध्यभागमा रहेको यो मन्दिर धार्मिक मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। मन्दिर परिसरभित्र गणेश, बसाहा, राम–सीता, राधाकृष्ण, भैरवनाथ, हनुमान लगायतका पुरातात्त्विक मूर्तिहरू रहेका छन्। साथै, एक बिघा क्षेत्रफल ओगटेको पोखरीले मन्दिरको प्राकृतिक सौन्दर्यमा थप निखार ल्याएको छ।

धार्मिक आस्था, ऐतिहासिक महत्व, र प्राकृतिक वातावरणको संगम रहेको काँटघाँट महादेव मन्दिर साउन महिनामा शिवभक्तहरूको आस्थाको केन्द्र बन्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*