मुख्यमन्त्री लामाले आज राजीनामा दिदैं
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार हेटौंडा आएर पदबाट राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौंमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुन सक्ने देखिएको छ।
प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ। तर, उनी समयमै नफर्किएमा राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि आएको हो। उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग हार बेहोरेका थिए।
लामाको राजीनापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने निश्चितजस्तै छ। प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।










