बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आ.व २०८१/८२ को ६७.२९ प्रतिशत बजेट कार्यान्वयन

संवाददाता
२०८२ श्रावण १६, बिहीबार १९:००

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत सुधार, किसान लक्षित कार्यक्रम र रोग नियन्त्रण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रदेशको कृषि विकास सम्बन्धमा तयार पारिएको विधेयक २०८० बागमती प्रदेश सभाबाट पारित भइसकेको र हाल प्रमाणिकरणको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ। यो विधेयक कार्यान्वयनमा आएसँगै प्रत्येक वर्ष कार्यविधि बनाउने झन्झट हट्ने र कार्यक्रम कार्यान्वयनमा सहजता आउने बताईएको छ ।

मन्त्रालयले चालु वर्षमा २३ वटा नयाँ तथा एक पुरानो कार्यविधिको संशोधन स्वीकृत गरेको छ। यससँगै सेवा प्रवाहको पहुँच विस्तार गर्ने क्रममा कृषि तथा पशु सेवा कार्यालय नभएका जिल्लाहरूमा सेवा केन्द्र स्थापना गरेको छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याइएको ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई थप विस्तार गर्दै मन्त्रालयले यस आर्थिक वर्षमा थप २५ वडालाई समेट्दै कुल ७० वडासम्म पुर्‍याएको छ। समुदायमा आधारित खेती प्रणालीमार्फत वडालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वडामा ४० लाख रुपैयाँ बराबरको साझेदारी सहयोग उपलब्ध गराईएको मन्त्रालयले जनाएको छ ।

पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्राकृतिक र गैरप्राकृतिक विपद्बाट क्षति बेहोरेका ३३० जना किसान र ६ वटा फार्मलाई १ करोड २२ लाख रुपैयाँभन्दा बढी राहत रकम वितरण गरिएको ,साथै पशु स्वास्थ्यका क्षेत्रमा पनि उल्लेखनीय काम भएको मन्त्रालयले जनाएको छ। पिपिआर रोग नियन्त्रणका लागि १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिँदै १५ लाखभन्दा बढी भेडाबाख्रालाई खोप दिइएको छ भने लम्पी स्किन डिजिज विरुद्ध ७२ हजार गाईभैंसीमा निःशुल्क खोप लगाइएको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिनु भयो ।

पशुपन्छी रोग अन्वेषण र अनुसन्धानको उद्देश्यले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा ‘बायो सेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण कार्य सम्पन्न भई विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ। प्रयोगशाला सञ्‍चालनमा आइसकेको र यसले पशुपन्छीका विभिन्न रोगहरूको सटीक निदानमा सहयोग पुर्‍याउने उल्लेख गरिएको छ ।

त्यसैगरी, हेटौंडामा निर्माण सम्पन्न भएको दूध पाउडर प्लान्ट सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। उक्त प्लान्टले दैनिक ६० हजार लिटर दूध प्रशोधन गर्ने क्षमता राख्दछ। हाल डेरी विकास संस्थानमार्फत यसको परीक्षण सञ्चालन भैरहेको छ। साथै, हेटौंडा-११ मा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजार पनि आगामी साउन १८ गते औपचारिक रूपमा हस्तान्तरण गरिने तय भएको कृषि मन्त्री श्रेष्ठले बताउनु भयो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले अझ महत्वाकांक्षी कार्यक्रमहरू अघि सारेको छ। कृषि क्षेत्रमा लगानी प्रवर्धनका लागि १० करोड रुपैयाँको कर्जा सुरक्षण कोष, ५ करोडको सहुलियतपूर्ण व्याज अनुदान, स्मार्ट कृषि फार्म र स्मार्ट पशुपन्छी फार्म स्थापना, आधुनिक बधशाला निर्माण, र जैविक मल कारखानाको निरन्तरताजस्ता कार्यक्रम अघि सारिएका छन्। पशुपन्छी तथा मत्स्य व्यवसायलाई प्रवर्धन गर्न स्टार्टअप ग्रान्टमार्फत २० करोडको बजेट विनियोजन गरिएको छ भने किसानलाई राहत, व्यवसायिक खेती प्रवर्धन, च्याउ र फूल सजावट खेती, कृषि बजार सूचना प्रणाली र आधुनिक ग्रीन हाउस निर्माणजस्ता कार्यक्रम पनि अघि सारिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*