बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामा बहिर्गमन
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दलभित्र विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १५ मात्र मत परेको छ, भने २२ जना सांसद उनको विपक्षमा उभिएका छन्।
पूर्वमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बहुमत सांसदले विश्वास नदेखाएपछि लामा अब संसदीय दलको नेता रहने आधार गुमाएका छन्।
लामाको विकल्पका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। २२ जना सांसदले बानियाँको पक्षमा समर्थन जनाएपछि मुख्यमन्त्री लामा माथि राजीनामा दिन र सरकार बानियाँको नेतृत्वमा हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।










