बंगलादेशमा फेरि हिंसा भड्कियो : ४ जनाको ज्यान गयो , ९ जना घाइते

संवाददाता
२०८२ श्रावण २, बिहीबार १२:४२

काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए। अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेको प्रत्यक्ष दर्सीले जनाएका छन् ।

प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका पछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए र भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।

हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् ।

चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो ।

हिंसाको बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*