बागमतीको १० जिल्लामा १२० सीसीटीभी क्यामेरा जडान

संवाददाता
२०८२ असार ३१, मंगलवार १२:१७

हेटौंडा । सार्वजनिक सुरक्षालाई प्रविधिमैत्री बनाउँदै बागमती प्रदेशले एक महत्वाकांक्षी योजना अन्तर्गत १२० वटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरेको छ। प्रदेशका १० जिल्लाका ६४ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

सुरक्षामा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक साझेदारीमा यो प्रणाली स्थापना गरेको हो। मंगलबार हेटौंडामा आयोजित विशेष समारोहमा मन्त्री सुरजचन्द्र लामिछानेले औपचारिक उद्घाटन गरेका हुन् ।

परियोजनाको लागत २ करोड ८४ लाख ११ हजार रुपैयाँ रहेको र सार्वजनिक खरिद ऐनअनुसार पारदर्शी बोलपत्र प्रक्रियाबाट ठेक्का सम्झौता गरिएको बताइएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यी क्यामेरा प्रणालीहरू ३८ वटा प्रहरी युनिटमार्फत निगरानीमा रहने छन्। चितवनको नारायणगढ, सिन्धुलीको भिमान, र मकवानपुरको रातमाटेजस्ता संवेदनशील क्षेत्रहरूमा भने उच्च प्रविधियुक्त बिएलएच क्यामेरा र रडार प्रणाली प्रयोग गरिएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सीसीटीभी प्रणाली कम्तीमा ९० दिनको फुटेज सुरक्षित राख्न सक्षम भएको, र विद्युत अवरोधका समय पनि कार्यशील रहन युपिएस जडान गरिएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*