सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्। शनिबार दिउँसो ४:३० बजेको समयमा अन्दाजी १७–१८ वर्षका कर्ण भन्ने प्रणय गुप्ता खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
बारा जिल्ला, कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँको माइतीघरमा बस्दै आएका गुप्ता साथीहरूसँग मार्खु घुम्न आएका थिए। सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा अचानक बेपत्ता भएपछि उनका साथिहरूले प्रहरीलाई जानकारी गराएका थिए।
डुबेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट मार्खु इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएका प्रहरी टोलीले खोजतलास सुरु गरेका छन्। तर अहिलेसम्म फेला पार्न सकिएको छैन।
प्रहरीका अनुसार सम्भावित स्थानहरूमा खोजी कार्य जारी छ।











