चिकित्सकहरु देशव्यापी आन्दोलनमा , सेवाग्राही मर्कामा

संवाददाता
२०८२ असार २३, सोमबार १४:२१

हेटौंडा । पछिल्ला केही महिनामा उपभोक्ता अदालतले स्वास्थ्य सेवामा लापरवाहीका घटनामा करोडौं क्षतिपूर्तिको आदेश दिएपछि चिकित्सकहरु देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आव्हानमा आज सोमबार मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा अवरुद्ध भएको छ ।

गत जेठ २९ गतेदेखि असार ५ गतेसम्मका फैसलामा उपभोक्ता अदालतले तीन वटा फरक–फरक स्वास्थ्य संस्थालाई ५० लाखभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिइसकेको छ। पछिल्लो आदेश अनुसार एक बिरामीको मृत्युपछि अदालतले सम्बन्धित अस्पताललाई १ करोड ४५ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जेठ २९ गते काठमाडौंको ओम अस्पताललाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला उपभोक्ता अदालतले गरेको थियो । यस्तै असार ५ गते ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश उपभोक्ता अदालतले गरेको छ ।

चिकित्सक संघका अनुसार यस्तो फैसलाले ‘चिकित्सा पेशामा भयको वातावरण सिर्जना’ गरेको छ। आजको आन्दोलनले हजारौं नागरिक आकस्मिक बाहेकका सेवाबाट वञ्चित भएका छन्। कतिपय बिरामी अपरेसनको पर्खाइमा छन्, कतिपयको नियमित डायलिसिस वा उपचार रोकिन पुगेको छ। नेपाल चिकित्सक संघको आव्हानमा मकवानपुरका अस्पतालहरुले पनि आज आकस्मिक बाहेकका सेवामा रोक लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*