मकवानपुरको कुलेखानी सडकखण्डमा सवारी दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भीर
हेटौंडा । मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटे स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज दिउँसो भएको एक सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्, भने तीन जनाको अवस्था गम्भीर भएका छन् ।
दिउँसो १:०० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी तत्काल काठमाडौंस्थित अस्पताल पठाएको जनाएको छ।
गाडीमा चालकसहित १० जना सवार थिए। प्रहरीका अनुसार सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। गाडी चालक २२ वर्षीय राजाराम साह, पर्सा जिल्ला, परमानीपुर गाउँपालिका–२ का बासिन्दा हुन् । चालक हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि पर्सा जिराभवानी गाउँपालिका ३ बस्ने ३५ वर्षका चन्द्र सन्जु गौरेकाे दायाँ हात र काँधमा गम्भीर चोट लागेकाे छ । भारतकाे बिहार घर भएका ३९ बर्षका रिसाहद कुमारकाे दायाँ हात, काँध र ढाडमा गम्भीर चोट लागेकाे छ । त्यसै गरि ३५ वर्षका उमाशंकर कुमारकाे हात र घाँटीमा गम्भीर चोट लागेकाे छ । त्यसै गरि २७ बर्षका जताशंकर कुमारकाे दायाँ गाला र निधारमा सामान्य चोट लागेकाे छ । र ५० बर्षका राकेश कुमारकाे टाउकोमा सामान्य चोट लागेकाे छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










