बजेटप्रति असहमति चुलिंदै जाँदा बागमती प्रदेशसभा बैठक पुनः स्थगित
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु हुनुपर्ने प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ। दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ४ बजेको लागि सारिएको थियो । ४ बजे पनि बैठक बस्न नसकेपछि विशेष कारण देखाउँदै १९ गते बिहान ११ बजेको लागि सारिएको हो।
प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटबारे छलफल गर्ने कार्यसूची तय भए पनि दुई पटकसम्म बैठक स्थगन भएको छ । यसअघि असार १२ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो।
सबैभन्दा चासोको विषय भने सत्ता पक्षमै देखिएको असहमति हो। बजेटमा समावेश योजनाको वितरण, प्राथमिकताको निर्धारण, जिल्लागत बजेट विभाजनलगायतका विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसदहरू असन्तुष्टि जनाउँदै आएका छन्।
यता सत्तारूढ गठबन्धनभित्रैको समन्वय अभावले बजेट पारित प्रक्रिया अन्योलमा पर्न थालेको छ।
सक्तापक्ष दलले समेत बजेटबारे गम्भीर प्रश्न उठाउँदै समावेशिता र क्षेत्रीय सन्तुलन नदेखिएको आरोप लगाएको छ। यता, आर्थिक माामिला तथा योजना मन्त्रीले भने सबै पक्षसँग संवाद गरेर बजेट अघि बढाउने प्रयास भइरहेको प्रतिक्रिया दिँदै आएका छन्।
बजेट पारित गर्न प्रदेशसभाको बैठक बस्नु आवश्यक हुन्छ । तर बैठक पटक–पटक स्थगित भइरहँदा विकास खर्च र नीति कार्यान्वयन प्रभावित हुने चिन्ता बढेको छ।











