प्रवासी नेपालीको सुरक्षामा प्रविधि : दुई नयाँ मोबाइल एप सार्वजनिक
काठमाण्डौ । विदेशमा कार्यरत लाखौं नेपालीको सुरक्षाको लागी सरकार र अन्तर्राष्ट्रिय साझेदारले प्रविधिको सहारा लिन थालेका छन्।सरकारले दुई नयाँ मोबाइल एप— ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ सार्वजनिक गरिएको छ ।
परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको ‘श्रम संसार एप’ विदेशमा रहेका नेपालीहरूको व्यक्तिगत विवरण, स्थान र अवस्थासम्बन्धी जानकारी सङ्कलन गर्न केन्द्रित छ। यो एपबाट प्रवासीहरूले आफैं आफ्नो विवरण अद्यावधिक गर्न सक्ने छन्। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भने, जानकारीको अभावमा विगतमा धेरै नेपाली ठगिएका र पीडित भएका छन्। अब प्रविधिको प्रयोगले सरकार र नागरिकबीचको दूरी घटाउने छ।
अर्को तर्फ, हामी मोबाइल एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो । जसले कोरियामा जान चाहने र कार्यरत नेपाली श्रमिकका लागि आवश्यक जानकारी डिजिटल माध्यमबाट दिनेछ। यो एप नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार, सरकार डिजिटल प्रविधिमार्फत श्रम बजारमा पारदर्शिता र समन्वय वृद्धि गर्न चाहन्छ। यो एपले श्रमिकलाई जानकारीमूलक सेवा दिनुका साथै उद्यमशीलताको बाटो पनि खोल्ने बताए ।
‘हामी मोबाइल एप’ मा रोजगारसम्बन्धी जानकारीका साथै सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्य र पुनस्स्थापनाका उपाय समेत समावेश गरिएका छन्। कोरियाली दूतावासले यसलाई नेपाली श्रमिकका लागि पूर्व–मध्य–पश्चात चरणको एकीकृत डिजिटल सहारा भनेको छ।











