बागमती प्रदेश सभा स्थगित : बजेटमा पक्षपातको आरोप, कांग्रेसमै असन्तुष्टि
हेटौंडा । बागमती प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बैठक तय भएको थियो ।
प्रदेश संसद सचिवालयले बैठक स्थगितको स्पष्ट कारण नखुलाए पनि स्रोतका अनुसार बजेटमा सत्तारूढ नेपाली कांग्रेसकै सांसदहरुको असन्तुष्टि जनाएको बताइएको छ ।
बुधबार साँझ बसेको नेपाली कांग्रेसको संसदीय दल बैठकमा अधिकांश सांसदहरुले बजेट प्रस्तावप्रति गम्भीर आपत्ति जनाएका छन्। बैठकमा सांसदहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेमाथि गम्भीर टिप्पणी गरेका छन्। उनीहरूले बजेटलाई ‘एकपक्षीय, क्षेत्र विशेषमा केन्द्रित, र प्रभावशाली व्यक्तिको पहुँचमा आधारित’ भन्दै आलोचना गरेका हुन्।
मुख्यमन्त्री र मन्त्री काफ्लेले आफ्ना निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई प्राथमिकता दिँदै बजेट खन्याएको सांसदहरुले आरोप लगाएका छन् । बजेट प्रस्तावमा केही जिल्लामा मात्रै प्राथमिकता दिइएको छ भने प्रदेश बाहिरको क्षेत्रमा समेत बजेट प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका छन् । गण्डकी प्रदेशअन्तर्गत पर्ने पूर्वी नवलपरासीको कावासोती क्षेत्रमा समेत बागमती प्रदेशको बजेट विनियोजन गरिएको छ । शिव माध्यमिक विद्यालय परिसर र आसपासका क्षेत्रको पूर्वाधार विकासका लागि बजेट विनियोजित गरिएको छ ।
यस्तै, हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा मात्रै रहेको अवस्थामा बजेटमा वडा नम्बर २० र २२ उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्।











